images
images

महिलामैत्री बजेट ल्याउन सम्बन्धित मन्त्रालयसँग छलफल जारी छ : मन्त्री चौधरी

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलामैत्री बजेट ल्याउनका लागि सम्बन्धित मन्त्रालयबीच छलफल भइरहेको बताइन्।

मन्त्री चौधरीले गृह, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयबीच आगामी आर्थिक वर्षको बजेट महिलामन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइन्।

बिहीबार काठमाडौंमा आयोजित शिक्षा सम्मेलनमा बोल्दै उनले किशोरीमैत्री बजेटका लागि पनि मन्त्रालयले पहल गरिरहेको बताइन्। महिलाहरुका लागि उद्यमी शिक्षा, साक्षरता शिक्षा, प्रौढ शिक्षा भनेजस्तै किशोरीहरुका लागि पनि लैंगिकमैत्री भनेर बजेट ल्याउन आफूले पहल गरिरहेको मन्त्री चौधरीको भनाइ थियो।

उनले स्थानीय तहमा पूर्वाधारको अभावमा किशोरीहरुको सेनिटरी प्याडसम्बन्धी कार्यक्रम प्रभावकारी ढंगले लागू हुन नसकेको पनि बताइन्। उनले सो कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग गर्न आफूले फिनल्याण्ड सरकारसँग छलफल गरिरहेको समेत बताइन।

मन्त्री चौधरीले अपांगता भएका व्यक्तिहरुलाई विशेष खालको सुविधा दिनुपर्छ भन्नेमा पनि सरकार दृढ रहेको बताइन्।