त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने  निर्णय गरेको हो ।

वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको शुक्रबार सूचनामार्फत जानकारी गराएको छ ।

‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

यसअघि त्रिविमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउन पर्ने माग हुँदै आएको थियो ।