काठमाडौं- नेकपा एकीकृत समाजवादीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने १० औं राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ।
सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको हो।
पार्टीका सबै कमिटीमा आबद्ध नेता तथा सम्बन्धित भूगोलमा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाले परिपक्व नेतृत्व स्थापित गर्न सहयोग पुग्ने पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन्
महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, संगठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहितका कार्य गर्दै आएको छ।
सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउन तथा सदस्यहरु विस्तार गर्न सदस्यता शुल्क, ‘लेबी’लाई व्यवस्थित गराउने र कार्यालय व्यवस्थापनको लागि सम्पर्क मञ्चहरू र सम्बन्धित कमिटीलाई आवश्यकताअनुसार दायित्व तोक्न सक्ने व्यवस्था गरिएको छ।
महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक अवस्था तथा अन्तर्राष्ट्रिय घटनाक्रमको समीक्षा गरिएको छ। वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकतालाई केन्द्रमा राखिएको छ।
प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरूप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय समावेश गरिएको छ। रासस