images
images
images

पुरानालाई भोट हालेर नयाँ परिवर्तन हुँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले पुरानैलाई भोट हालेर नयाँ परिवर्तन आशा गर्न नहुने बताएका छन्। उनले एक पटक आफ्नो दललाई मत दिएर हेर्न इलामवासीलाई आग्रह गरे।

आउँदो वैशाख १५ मा हुने इलाम क्षेत्र-२ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई इलाम बजारमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीको उम्मेदवार घोषणा गर्दै उनले रास्वपाले देश परिवर्तनको संकेत गरिसकेको बताए।

‘पुरानै पार्टी, पुरानै झन्डा, पुरानै नेता र पुरानै चुनाव चिह्न रोजेर नयाँ परिवर्तन आशा गर्न हुँदैन,’ उनले भने, ‘एक पटक हामीलाई जिताएर हेर्नुस्, बरु हाम्रा उम्मेदवारले केही गर्न सकेनछन् भने अर्को चुनावमा हामीलाई भोट नहाल्नुहोला।’

उपप्रधान एवं गृहमन्त्री समेत रहेका सभापति लामिछानेले परिवर्तन गर्ने हो भने नेतृत्व परिवर्तन आवश्यक भएको बताए। ‘अब यो वाद र त्यो वादका पक्षमा लड्ने कि इलामलाई बनाउन, देश बनाउन लड्ने ?’ उनले भने, ‘अब कुनै दल, उम्मेदवारको विरुद्ध लड्ने होइन, परिवर्तनका लागि लड्ने, जनताका लागि लड्ने हो।’