सदनमा आज पनि कांग्रेसको अवरोध: गृहमन्त्रीमाथि छानबिनको अडान कायमै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग यथावत राखेको छ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुग्नुभएको भन्दै यसले संशय पैदा भएको बताए। उनले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिएको उल्लेख गरे। उनले प्रधानमन्त्रीले ठूलो माछालाई काखीमा च्यापेर सानो माछा खोजेको बताए। उनले चाँडोभन्दा चाँडो संसदीय समिति बनाउन ध्यानाकर्षण गराए।

गौतमले भने, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरुले एउटा संशय पैदा भएको छ कि, यसको न्याय निरुपण कसरी हुन्छ? प्रधानमन्त्रीले छानबिन गर्छु भन्ने, ठूलो माछा काखीमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुराको प्रतिवद्धता देखाएर पुग्छ सभामुख महोदय? हामीले गम्भीर प्रश्न उठाएका छौँ। हामी चाहन्छौँ, संसदीय छानबिन समिति बनोस्।’