गृहमन्त्रीबारे प्रहरी प्रमुखको जवाफले संशय पैदा गर्‍यो : कांग्रेस

काठमाण्डु, १८ चैत– प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ ।

आज (आईतबार) बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले यस्तो बताएका हुन ।

उनले भने, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ ।’ यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले यस्तो बताएका हुन् ।