शनिबार यहाँ सम्पन्न मञ्चको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले शकुन्तला देवकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाएको हो । यसपटक अधिवेशन आयोजक अध्यक्ष गोपाल थापाको सक्रियतामा महिलाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
मञ्चको प्रथम उपाध्यक्षमा हरिशरण थपलिया र मनहरि दाहाल, महासचिव चोपेन्द्रबहादुर खड्का, सचिव विनोद वस्ती, कोषाध्यक्ष रघुनाथ पौडेल र सहकोषाध्यक्षमा नवराज तिवारी निर्वाचित हुनुभएको छ । यसैगरी, सदस्यहरुमा रामेश्वर चौधरी, सृष्टि भण्डारी, प्रज्ज्वल अर्याल र सागर आचार्य निर्वाचित हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्यत्र कृत्रिम ठाउँ हेर्न पर्यटकको लाम लाग्ने गर्दा नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको अथाह पर्यटन सम्भावनाबाट पनि लाभ लिन नसकिएको उल्लेख गर्नुभयो ।
उहाँले अब यहाँको पर्यटकीय वातावरण, सुरक्षा र सुविधाप्रति पर्यटकलाई विश्वस्त पार्ने अन्तर्राष्ट्रिय सन्देश प्रवाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
पर्यटन क्षेत्रका नीतिगत समस्या हटाएर प्रवर्धन गर्दा युवाको विदेश पलायन रोक्ने रोजगारी सिर्जना हुने उहाँले बताउनुभयो ।
यसैगरी, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री टेकबहादुर बस्नेतले भिटोफले शहरमा केन्द्रित पर्यटनलाई गाउँगाउँमा पुर्याउनुका साथै घरघरमा पर्यटकीय चेतना विस्तार गरेको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा व्यवसायीका तर्फबाट विभिन्न कर र भ्याटका महँगो शुल्कका कारण बाह्य टिकमेकी भारत र चीनबाट पर्यटक नेपालमा तान्न समस्या परिरहेकाले सरकारले यो समस्या हटाउनुपर्ने विचार व्यक्त गरिएको थियो ।
कार्यक्रममा प्रमु अतिथि दाहाललगायतबाट भिटोफबाट प्रकाशित एवं भिटोफका प्रमुख सल्लाहकार प्राडा. प्रेम शर्माद्वारा सम्पादित ‘गाउँ पर्यटन’ पुस्तक सामूहिक विमोचन गरिएको थियो ।