आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्-कांग्रेस

काठमाडौं- रास्वपाका सांसद स्वर्णिम वाग्लेले आफ्नो पार्टीलाई प्रधानमन्त्री प्रस्ताव गरिएको थियो भनेर केही समयअघि दिएको अभिव्यक्तिप्रति कांग्रेस सांसद विश्वप्रकाश शर्माले कटाक्ष गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा भने, ‘मलाई नाइ त्यही गृहमन्त्री चाहिन्छ भन्दै गरेको मित्रले प्रधानमन्त्री प्रस्ताव गरेपछि किन खानुभएन होला? कत्रो त्याग होला?’

शर्माले आफूहरू सरकारबाट हामी बाहिरिएपछि प्रतिपक्षमा बस्ने भनेर संस्थागत निर्णय गरेको स्मरण गराए। उनले आफूहरूबाट प्रधानमन्त्रीको प्रस्ताव आएको भन्ने भ्रम भए खारेज गरेको पनि बताए।

‘यदि हामी कहीँ कतैबाट टेलिफोन आएको छ भन्ने भ्रम छ भने त्यसलाई खारेज गरिएको घोषणा म यहीँ गर्न चाहन्छु। कांग्रेसको सभापति वा महामन्त्रीहरूले संस्थागत निर्णय नगरिकन कसैलाई प्रधानमन्त्री पदको प्रस्ताव किस्तीमा राखिएर गरिएको छ भन्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गर्न चाहन्छु’, उनले भने।

बैठकमा शर्माले सहकारीको रकम अवैधानिक ढंगले गोरखा मिडिया प्रालिमा प्रवाह गराएको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने बताए। विगतमा पनि त्यस्तो आरोप लागेका बेलामा संसदीय छानबिन हुने गरेको भन्दै यसपटक पनि त्यसको आवश्यकता प्रस्तुत गरे।