उपनिर्वाचन : कांग्रेसबाट इलाम–२ मा डम्बर खड्का र बझाङमा सिंह

काठमाडौं । आगामी वैशाख १५ गते हुन लागेको इलाम र बझाङमा उपनिर्वाचनको लागि नेपाली कांग्रेसले आफ्नो पार्टीको उम्मेदवार टुंगो लगाएको छ ।

कांग्रेसले उपनिर्वाचनमा इलाम क्षेत्र नम्बरर २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवारको टुंगो लगाएको छ भने बझाङ प्रदेशसभा १ को उम्मेदवारमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने पार्टीले बिहीबार (आज) निर्णय गरेको हो ।

यसअघि इलाम– २ र बझाङ प्रदेशसभा– १ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको थियो । इलाम– २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच ताकाताक थियो ।

सभापति शेरबहादुर देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका थिए । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका थिए ।