व्यवसायीहरुले प्रहरी अफिसरको चाकडी गर्नु पर्दैनः गृहमन्त्री लामिछाने

काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ठमेल र दरबारमार्गमा रात्रिकालीन व्यवसाय सञ्चालन आमाको निन्द्रा जोगाउने र छोराको सपना पनि पूरा गर्ने गरी गर्ने लागेको दाबी गरेका छन्।

शुक्रबार रात्रिकालीन व्यवसाय सञ्चालन सरोकारवाला निकायहरुसँगको छलफललाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले  रात्रिकालीन व्यवसाय स्थानीय र व्यवासायीहरुको समस्या समाधान गरेर मात्रै सञ्चालन गरिने प्रतिबद्धता जनाए।

गृहमन्त्री लामिछानेले आफू लोकतन्त्रमा विश्वास गर्ने भन्दै ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्नुहुन्न भन्नेको विचारलाई वेवास्ता गर्ने गरी नजाने बताए। उनले उनीहरुको समस्या समाधान नगरी धेरै मानिसहरुले भनेकै भरमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा आफू नभएको स्पष्ट पारे।

स्थानीय र घरधनीको अधिकार सुरक्षित हुने गरी मात्रै अगाडि बढ्ने उनको भनाइ छ। गृहमन्त्री लामिछानेले धेरै मानिसहरु सहमत भएका आधारमा बलिया धेरै भएका पक्षमा रहेर कम मत भएकाहरुको विचारलाई अवमूल्यन गरेर जाने पक्षमा सरकार नभएको उल्लेख गरे।

उनले ठमेल र दरबारमार्ग अनौपचारिक रुपमा चल्नु र औपचारिक रुपमा चल्नु धेरै फरक हुने बताए। उनले चौबिसै घण्टा शहर खुला हुँदा सरकार र प्रहरीले गर्ने तयारी त्यही ढङ्गको हुने बताए। पूर्णरुपमा व्यवसायिक क्षेत्र नभएकाले स्थायी बसोबास गर्नेहरुको हक अधिकार मध्यनजर राखेर काम गर्दा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे।

उनले व्यवासाय जोगाउनको लागि सरकारले यो कदम चालिएको धारणा व्यक्त गरे। उनले शहरमा राति पेट्रोल हाल्ने ठाउँ नभएको भन्दै काठमाडौँ शहर त्यस्तो मृत शहर नभएको उल्लेख गरे।

गृहमन्त्री लामिछानेले प्रहरी प्रशासनलाई ठमेल र दरबारमार्ग २४ घण्टा व्यापार व्यवसाय सञ्चालनमा आएपछि व्यवासायीहरुकोमा गएर खाना नखान निर्देशन दिए। उनले प्रहरीहरुले आफ्नै खाना खाने भन्दै प्रहरीहरुलाई खाना खुवाउने, राख्ने र उपहार दिने व्यवासायीहरुले गरे व्यवसायमा ताला लाग्ने चेतावनी दिए। उनले त्यो लोभ प्रहरीहरुले नराख्ने दाबी गरे।

गृहमन्त्री लामिछानेले व्यवसायीहरुले प्रहरीसँग सम्बन्ध बढाउने काम गर्नु नपर्ने भन्दै व्यवसायको सुरक्षा प्रहरीले भन्दा पनि सुरक्षा नीतिले गर्ने बताए। गृह मन्त्रालयको नीति व्यवसायीहरुलाई सुरक्षित राखेर व्यवसाय गर्न दिने भएको उनको दाबी थियो। उनले व्यवसायीहरुले कुनै प्रहरी अफिसरको चाकडी गर्नु नपर्ने भन्दै वर्तमान सरकार त्यो फेवरभन्दा माथि उठेर नयाँ प्रणाली स्थापित गर्न लागेको उल्लेख गरे।