पोखरा – एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र झलानाथ खनालले एमालेमा छँदा अवसर पाएपछि झनै असन्तुष्ट भएको टिप्पणी गरेका छन्। शुक्रबार पोखरा आएका ओलीले खाएपछि भोकाएको संज्ञा दिँदै अवसर पाएपछि नेपाल र खनाल असन्तृष्ट बनेको आरोप लगाए।
पार्टीबाट अवसर लिनुसम्म लिएपछि मलाई के ? भनेर भाग खोज्ने गरेको उनको भनाइ छ। माधव नेपालले १५ वर्षसम्म पार्टी प्रमुख र प्रधानमन्त्री भएरपछि मलाई खोइ ? मलाई के भयो ? मैले के पाएँ ? भनेर असन्तृष्टि पोखेको ओलीले सुनाए।
‘अहिले समिरकणमा हुनुहुन्छ त्यो पनि हेक्का गर्नुपर्नेछ। मैले झन्डै झन्डै बिर्सिएको’, ओलीको व्यंग्यमा एमालेका नेता कार्यकर्ताले गलल हाँसे। झलनाथले पनि १२ वर्षसम्म पार्टी प्रमुख भएपछि अवसर नपाएको भन्दै प्रश्न गरेको ओलीको जिकिर थियो।
पूर्वअध्यक्षको हैसियतले वरिष्ठ नेताको ओहोदामा बसेर काम गर्न नदिएको उनको टिप्पणी थियो। ‘हाम्रो पार्टीमा एउटा गलत चलन चलाएका छौं बाध्य भएर। पूर्व पार्टी प्रमुख स्वतः वरिष्ठ नेता हुन्छ र अध्यक्षकै छेउमा बस्छ। दोस्रो नेता दोस्रो वरियता दिन्छौं’, उनले भने, ‘म तपाईंहरुलाई अहिल्यै भन्न चाहन्छु अध्यक्ष छोडेपछि अध्यक्षको छेउमा बसेर यो पनि चाहियो त्यो पनि चाहियो गर्दिनँ।’
उनले थपे, ‘मेरो हैसियत के भनेर त्यहाँ लफडा गर्न जाने होइन मैले छोडेपछि। मैले सकिन्जेल काम गर्छु। छोडेपछि अर्काले मजाले काम गर्न पाउनुपर्छ। फेरि वरिष्ठ नेता भएर किचिकिच म गर्दैे गर्दिनँ।’ आफूलाई पार्टीले के दियो भनेर रोइला नगर्ने ओलीले आश्वस्त पारे।
पार्टीमा अवसर पाएपछि असन्तृष्ट भएका खाएपछि झन बढी भोकाएका प्रवृत्तिबाट चेतेकाले अब त्यस्तो अवस्था नआउने उनको जिकिर छ। पहिला पार्टीमा अध्यक्ष बनिदिनु भन्दा पनि कोही नबन्ने अवस्था रहेकोे उनले सम्झिए। अहिले तपाईंले छोड्नुस्भन्दा शत्रु बनिने ओलीले सुनाए। एमालेमा लोकतन्त्रको गलत परिभाषा र अपव्याख्या भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बताए। ‘जिम्मेवार नेताले पार्टीको एकतालाई केन्द्रभागमा राखेर काम गर्नुपर्छ’, उनले भने।
चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनमा आफुसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका भीम रावलप्रति पनि ओलीले निकै असन्तुष्टि पोखे। एक जना मान्छेले लफडा गरेर पार्टीको कम्तिमा पनि २ करोड रुपैयाँ बढी खर्च भएको उनको आरोप छ।
‘एक जना मान्छेले लफडा गरेर पार्टीको कमसेकम दुई करोड भन्दा खर्च बढ्यो। दुई दिन भन्दा बढी अनिदो प्रतिनिधिहरु बस्नुप¥यो’, आक्रोशित मुद्रामा ओलीले भने, ‘परिणाम के हुने पनि सबैै थाहा छ। मेरो अधिकार प्रयोग गर्छु भन्याछ एउटा मान्छे नउठि छाड्दिन भन्या’छ।’ उनले रावललाई लक्षित गर्दै त्यतिधेरै असमझदारी राख्ननपर्ने तर्क गरे। अब ती दिन गएकाले एमाले परिपक्व पार्टी भएको ओलीको दाबी छ।
उनले माओवादी कांग्रेसबीचको गठबन्धन खरानी डल्लो भएकाले टुटेको बताए। एमालेलाई एक्ल्याउने प्रयासलाई गठबन्धनलाई तोडेर निस्तेज पारेको उल्लेख गरे। अहिलेको समीकरण आफूहरूले नै बनाएकाले विदेशीलाई जस नदिन ओलीको सुझाव छ।
प्रचण्डसँगको समीकरणबारे नेता–कार्यकर्तालाई संयमित हुने सुझाव दिए। फुट्यो भनेर फुटिरहने जुट्यो भनेर जुटिरहने छैन। संयममित भएर बहस गर्नुपर्छ’, उनको भनाइ थियो।
बैंकको ऋण लिएर नतिर्ने दुर्गा प्रसाईंलाई जनताले हिरो बनाइदिएकोमा उनी गर्जिए। ‘बैंकको ऋण खाएर नतिर्ने मान्छे हिरो। देशलाई ओरालो लगाउने हिरो’, उनको असन्तुष्टि थियो। देशलाई भारतको प्रान्त बनाइदिने कपुतलाई पनि जमातले हिरो बनाइदिएकोमा ओलीको आपत्ति छ।