पैसा दिएरै हाम्रो पछाडि मान्छे खटाइयो : श्रममन्त्री अर्याल

काठमाडौं ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पैसा दिएर रास्वपा र यसका नेताका पछाडि कर्मचारी खटाइएको दाबी गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले पैसा खर्च गरेर रास्वपाको पछाडि मान्छे लगाइएको दाबी गरेका हुन् ।

‘हाम्रो निलो झण्डा हेरिन्छ अनि हाम्रो पछाडि लगाइन्छ । तर हाम्रोबारे अध्ययन गरिँदैन । रकम दिएर र कर्मचारी बनाएर हाम्रोपछि लाग्न लगाइएको छ । उहाँहरूलाई विनम्रतापूर्वक अनुरोध छ, तपाईंहरूको जिन्दगी बर्बाद पार्न तपाईंहरूलाई किनिएको छ, नकिनिुसुस्’ उनले भने, ‘यो देश बनाउने तपाईं र हामीले हो । जसले तपाईंहरूलाई किनेको छ, हाम्रो पछाडि लाग्नलाई पैसा दिएर हाम्रो पछाडि लगाएका छन् तिनीहरूले यो देश चुसिसके । त्यसकारण हामीहरू आएका हौं ।’

 

पछाडि लगाउनुको सट्टा सिधा आएर भेट्न पनि उनले चुनौती दिए । ‘हाम्रो पछाडि लाग्नुभन्दा अगाडि एकपटक हामीलाई भेट्नुस् न । हामीलाई सोध्नुस् न । हामीले गल्ती गरेका छौं कि छैनौं एकपटक बुझ्दिनुस् न । किनकी तपाईंहरूको जीवनप्रति पनि हामीलाई चिन्ता छ ’ उनले भने, ‘जसलाई रकमै दिएर हाम्रो पछाडि लगाइएको छ उनीहरूलाई तपाईंप्रति चिन्ता छैन । उनीहरूलाई आफूप्रति, आफ्नो राजनीतिक जीवनप्रति चिन्ता छ । आफ्नो कुर्सीप्रति चिन्ता छ । तपाईंको परिवारप्रति चिन्ता छैन । तपाईंको आफन्त आज विदेशमा मरिरहेको छ तर, उनीहरूप्रति चिन्ता छैन । बा र आमाले उपचार नपाउँदा पनि त्यसको चिन्ता छैन ।’

 

वास्तविकता नबुझी भुलभुलैयमा दुई/चार पैसा दिएर पछाडि लगाइएको उनको दाबी छ । ‘तपाईंहरूलाई भूलभुलैयामा पारिएको छ । दुई/चार पैसा दिएर यिनीहरूको पछि लाग, यिनीहरूको संलग्नता छ सोध, बुझ भनेर मेरो घरमा, मेरो व्यवसायमा पठाइएको छ’ उनले भनेका छन्, ‘म राजनीतिमा लागेका दुई वर्ष मात्र मात्रै भयो । त्योभन्दा अगाडि पनि मेरो जीवन थियो ।’