images
images

चुमानको नेतृत्वमा माओवादी गण्डकी सरकारमा जाने

पोखरा- मुख्यमन्त्री बन्न चाहेपनि नपाएका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बन्ने भएका छन् । गण्डकीमा खगराज नेतृत्वको सरकारमा चुमान मन्त्री बन्न लागेका हुन् ।

आइतबार बसेको बैठकले दलका नेता चुमानकै नेतृत्वमा सरकारमा जाने निर्णय भएको प्रमुख सचेतक कुशुम बुढाले बताइन् । चुमानबाहेक अरु को मन्त्री भन्नेबारे टुंगो लागेको छैन ।

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित माओेवादीका चुमान र नेकपा एकीकृत समाजवादी पार्टीका राजिव गुरुङ (दीपक मनाङे) ले आजै सपथ लिनेछन् ।

चुमान गण्डकीमा पटक पटक सरकार गठनमा सघाएकाले यसपालि आफु मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका थिए । उनले मुख्यमन्त्रीमा लबिङ गर्दै केही दिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका पनि हुन् ।

यसअघि खगराज अधिकारी पहिलो पटक मुख्यमन्त्री बन्दा चुमान भौतिक पूर्वाधार मन्त्री बनेका थिए । त्यतिबेला पनि मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्न छाडेका थिएनन् ।

चुमान पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकारमा पहिलो पटक मन्त्री भएका हुन् । त्यतिबेला उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका थिए ।