images

महासंघको अधिवेशन विधानबमोजिम गर्नुपर्ने प्रेस सेन्टर नेपालको माग

काठमाडौं- प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासंघको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ ।

पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघको अधिवेशनका विषयमा विभिन्न कोणबाट विषयहरू आइरहेका सन्दर्भमा प्रेस सेन्टर नेपालले सो माग गरेको हो ।

प्रेस सेन्टर नेपालको आइतबार राजधानीमा सम्पन्न बैठकमा अध्यक्ष विष्णु सापकोटाले पत्रकार महासंघ साझा संस्था भएकाले सहमतिका आधारमा समस्या समाधान गरी अगाडि बढ्न आग्रह गरे । बैठकले सदस्यता शुद्धीकरण अभियानलाई विगत साधारणसभाको ‘म्यान्डेट’ अनुसार नै सम्पन्न गर्नुपर्ने निर्णय गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाको प्रमुख उपस्थितिमा सम्पन्न उक्त बैठकले समानुपातिक विज्ञापन नीतिलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकमा उपाध्यक्ष सापकोटाले तीनै तहका सरकासँगको समन्वयमा मिडिया बचाउने र पत्रकार टिकाउने योजना निर्माण गर्नुपर्ने बताए ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार मिडिया मैत्री रहेको र सञ्चार कानुनहरू निर्माणमा लागिरहेको बताइन् । उनले कानुन निर्माणमा र नीति कार्यक्रममा रचनात्मक सुझाव-सल्लाह दिन प्रेस सेन्टरसँग आग्रह गरिन् । उनले आमसञ्चार विधेयकमार्फत सञ्चार क्षेत्रमा पुनःर्सरचना गर्न लागिएको उल्लेख गरेकी हुन् ।

बैठकमा प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा प्रचार विभाग सचिव गोविन्द आचार्यले संगठनको भावि योजना र नेपाल पत्रकार महासङ्घलगायत साझा सञ्चार संस्थाहरूमा खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए ।

बैठकले संगठन विस्तार र सुदृढीकरणसहित स्वरोजगार मिडिया, समानुपातिक विज्ञापन नीति कार्यान्वयन तथा संगठनको आन्तरिक पक्षमा महत्त्वपूर्ण निर्णय लिएको महासचिव सन्तोष पौडेलले जानकारी दिए ।