मधेसमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु, गृहमन्त्रीले सम्बोधन गर्ने

जनकपुर- मधेस प्रदेशको जनकपुर उपमहानगरमा प्रदेशस्तरीय सुरक्षा बैठक सुरु भएको छ । प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था लगायतका विविध विषयमा सरोकारवालसँग छलफल गर्न एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।

बैठकमा सहभागी हुन उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मंगलबार साँझ नै जनकपुर पुगिसकेका छन् । गोष्ठीमा मधेसका आठै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख अधिकारीहरू, प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको छ ।

गोष्ठी नेपाल सरकार गृह मन्त्रालय र मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा भएको हो ।

 मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री  लामिछानेको छलफल

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहनुभएका मन्त्री लामिछानेले पीडितसँग छलफल गरेका हुन् ।  छलफललमा मन्त्री लामिछानले समस्याको दीर्घकालिन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको, जिल्लास्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिएका छन् ।

मन्त्री लामिछानेले घटना विशेष अध्ययन गरी आयोगले निश्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह गर्नुभयो। छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताविक आफूहरुमाथि भइरहेको धरपकड रोक्न माग गरे ।  उनीहरुले पुरानो आयोगले समय अभावका कारण टुंग्याउन नसकेका निवेदन जो जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो, सो नयाँ आयोगलाई हस्तान्तरण गरिनुपर्ने माग समेत गरेका थिए। 

पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्त मिलापत्र गराउने काम भइरहेकोबारे पनि उनीहरुले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

जवाफमा गृहमन्त्री लामिछानेले प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा भेला भएका मधेसका सबै प्रजिअ र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताउनु भयो। पटक–पटकको छलफल निश्कर्षबिहीन भए पनि लामिछाने गृहमन्त्री भए लगत्तै उहाँकै सक्रियतामा सहमति भई आयोग गठन भएकाप्रति पीडितले मन्त्री लामिछानेलाई धन्यवाद व्यक्त गरेका थिए।