प्रतिपक्षको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध गरेका छन्।

संसद्को आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरूले उठेर बैठक अवरुद्ध गरेका हुन्। त्यसलगत्तै सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन अडान राख्दै संसदमा अवरोध गरिएको हो। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसद् अवरोध गर्दै आइरहेको छ।

यता, सत्ता पक्षीय दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), माओवादी केन्द्र भने छानबिन समिति बनाउन नसकिने अडानमा छन्।

संसदकाे अवराेध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे पहलमा मंगलबार बिहान बालुवाटारमा बैठकसमेत बसेको थियो । प्रधानमन्त्री दाहालसहित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री लामिछाने, प्रमुख प्रतिपक्षी दल कांग्रेस नेता कृष्णप्रसाद सिटौलर महामन्त्री गगन थापालगायतका नेताहरू उक्त बैठकमा सहभागी थिए। तर, उक्त बैठकमा कुरा मिल्न नसक्दा कांग्रेसले हिजो मंगलबारको बैठक अवरोध गरेको थियो ।

कांग्रेसले बैठक अवरोध गर्नासाथ सत्तारूढ दलका सांसदहरू पनि उभिएका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। छलफलमा पनि कुरा नमिले पछि सूचना टाँसेर बैठक आज बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठक पनि ११ बजे सुरु हुने भनिएपनि १२ बजेमात्र सुरु भएको थियो। आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको मन्त्रीले जवाफ दिने कार्यसूची थियो । यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन, २०८० पेस तयारी थियो।

बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यक्रम तय थियो।