संसद अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्छः सचेतक थिङ

काठमाडौं : नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले संसद् अवरुद्ध हुनुको अपजस सरकारले लिनुपर्ने बताएकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक थिङले नेपाली कांग्रेसले एक महिना अघिदेखि संसदीय छानविन समिति गठनको माग गरे पनि सरकारले बेवास्ता गरेको बताइन्।

उनले आफूहरुको कुरा सुनुवाइ नभएका कारण संसद् अवरुद्ध गर्न बाध्य भएको भन्दै यसको अपजस सरकारले लिनुपर्ने बताइन्।

उनले संसदीय छानविन समिति बनाउनका लागि प्रमुख प्रतिपक्ष दलको रूपमा सरकारलाई खबरदारी गर्नु कांग्रेसको गल्ती भयो? भनी प्रश्नसमेत गरे।

उनले भनिन्, ‘सहकारी प्रकरणमा संसदीय छानविन समिति गठनको माग राखिरहेका छौँ। पर्सि एक महिना पुग्छ। एक महिनासम्म हामीले माग गर्दै गर्दा सरकारले छानविन समिति गठन नगरेको कारणले हामी बाध्य भएका हौँ । यसको सम्पूर्ण जस, अपजस सरकारमा भर पर्छ। एक महिनासम्म सरकार के हेरेर बस्छ ? सरकारलाई हामीले सूचना दिएका होइनौँ ? सरकारमा खबरदारी गरेका होइनौँ ? यो भन्दा खबरदारी के दिने ? सरकार अनदेखा गरेर बस्छ भने सरकारलाई हामीले यति भन्दा के प्रतिपक्षको गल्ती भयो ? खबरदारी गर्नु काँग्रेसको गल्ती भयो त?’

उनले नेपाली कांग्रेसले ०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविनका लागि संसदमा दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि संसद सुचारु भएपछि जहिले छलफल गरे पनि हुने बताइन्।