राष्ट्रियसभामा अञ्जान शाक्यलाई मनोनीत गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले पूर्वराजदूत डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतको लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कांग्रेससँगको गठबन्धन सरकार हुँदा जनमोर्चाकी दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको थियो।  गठबन्धन फेरिएसँगै निर्णय बद्लिएको हो।

नेकपा एमालेकी विदेश विभाग सदस्यसमेत रहेकी शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएकी थिइन्।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिबाट मनोनीत वरिष्ठ अधिवक्ता रामनारायण विडारीको कार्यकाल सकिएपछि रिक्त कोटामा शाक्य मनोनीत हुने भएकी हुन्।

उनी पूर्व सांसद अजयक्रान्ति शाक्यकि पत्नी पनि हुन् ।