काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन्।
शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुसीयाली साटासाट गर्न पुगेका उनले यस्तो बताएका हुन्।
उनले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने प्रतिवद्धता जनाए।
उनले कर्मचारीहरूमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह बिना नै काम गर्ने वातावरण बनाइने पनि बताए।
गृहमन्त्री लामिछानेले काठमाडौं सहरलाई चलायमान र क्रियाशिल बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताउँदै काठमाडौं जिउँदो जाग्दो सहर बनाउन आफूले काम गरिरहेको जिकिर गरे।
उनले भने, ‘सबै गुनासा यथोचित ढंगले सम्बोधन हुन्छ। सेवामा खटिएका सम्पूर्ण प्रहरी जवानदेखि माथिल्ला अफिसरसम्म कुनै अन्याय नहोस्, कसैमाथि पनि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रह नहोस्। कसैले नेता चिन्नु पर्दैन, जनता चिने हुन्छ, नेताको चाकडी नभइ जनताको सेवा गरेमात्रै संगठन बलियो बन्छ भन्ने सुनिश्चितता हुनेछ। काठमाडौं सहर जिउँदाे जाग्दाे बनाउन काम गरिरहेकाे छु। सुरक्षा व्यवस्था चुस्त पारिएकाे छ’
गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुसीयाली साटासाट गर्न आफू सडकमा आएको पनि बताए।








