images

पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको छ।

आज बिहान ११ः५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका–८ पोखरी घर भई हाल रत्ननगर नगरपालिका–६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १ः३९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए। रेग्मी सौराहाको जङ्गल वर्ल्ड रिसोर्टमा नेचर गाइडको काम गर्दै आएका थिए।

रेग्मी लाइसेन्सप्राप्त नेचर गाइड रहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनले निकुञ्ज घुम्न गएका पर्यटक सकुशल रहेको बताए। गैंडाको आक्रमणबाट बेपत्ता भएका रेग्मीको चारवटा हात्ती प्रयोग गरेर खोजी गरिएको थियो।

‘निकुञ्जमा पर्यटकलाई वन्यजन्तु देखाउने गाइडलाई आक्रमण गरेको घटना बिरलै हुने गरेको छ,’ तिवारीले भने,’नयाँ वर्षको दिन दुःखद् घटना भयो।’ मृतक रेग्मीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।रासस