रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान–२०८१’ को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले सवारीचालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको जिकिर गरे । “…म त भन्छु– रोड टेस्ट नगरीकन ड्राइभिङ दिने परिपाटी छ, त्यो परिपाटी ठिक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ,” उनले भने ।

ड्राइभिङ सेन्टरमा सिकेका भरमा लाइसेन्स दिने प्रक्रियामा कडाइ गर्न आवश्यक रहेको उनले औँल्याए । उनले सवारीसाधन राम्रोसँग चलाउन जानेपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने विषयमा आफू अडिग रहेको बताए ।

“कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढंगले लाइसेन्स दिइएको छ, यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिनँ,” उनले भने, “तर, सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्न सक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु ।”

गृहमन्त्री लामिछानेले सीपबिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे । उनले सडक दुर्घटनामा बाइक चालकको संख्या बढी रहेको बताए । त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

सवारी लाइसेन्स दिने निकाय एउटा र लाइसेन्स प्राप्त मानिसले सही ढंगले सवारी चलाएको छ कि छैन भन्ने नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या निम्तिएको उनको भनाइ छ ।

उनले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको बताए । नागरिकको ज्यान बचाउनु राज्यको सबैभन्दा ठूलो दायित्व भएकामा उनले जोड दिए । सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्ने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल