images
images

सुप्रिम सहकारी ठगीमा जीबी राईसहित २८ विरुद्ध मुद्दा, गृहमन्त्री भएकै कारण रविलाई उन्मुक्ति!

काठमाडौँ : बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ लिएको देखिएको छ।

सुप्रिम सहकारी संस्थाले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का संचालक समिति सदस्यसमेत रहेका गृहमन्त्री लामिछानेको बैंक खातामा सेवा शुल्क बापत ४ लाख रुपैयाँ कट्टी गरी १ करोड ९६ लाख रुपैयाँ गएको लेखा परीक्षण प्रतिवेदनमा देखिएको हो।

सुप्रिममा भएका सागर के.सी.को बचत खाताबाट लामिछानेले १३ लाख रुपैयाँ कारोबार गरेको समेत देखिएको छ। जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज रुपन्देही जिल्ला अदालतमा दर्ता गरेको अभियोग पत्रमा संस्थाको बचत सदस्य लामिछानेको नाममा कुनै प्रक्रिया पुरा नगरी ऋण लगानी गरेको देखिएको उल्लेख छ।

लामिछानेको ऋण भौचर सदर गर्ने सागर केसी र रकम जम्मा गरिदने रोसनी गुरुङ्गको नाम अभियोगपत्रमा उल्लेख छ।

सागर केसीलाई फरार अभियुक्त बनाइएको छ भने रोसनी गुरुङ्गलाई पक्राउ गरिएको छ तर गृहमन्त्री भएकै कारण लामिछानेले भने उन्मुक्ति पाएका छन्।

शक्ति र सत्ताको आडमा सहकारीको रकम अपचलन गरेको अनुसन्धान प्रतिवेदनले पुष्टि गर्दा पनि प्रहरी र सरकारी वकिलको कार्यालय लामिछानेलाई प्रतिवादी बनाउन डराएको छ।  सरकारी वकिलको कार्यालयले लामिछानेका बिजनेश पार्टनर जीबी राईसहित २८ जनाविरुद्ध आज मुद्दा दर्ता गरेको छ।

प्रतिवादीहरुबाट ८६ करोड १८ लाख ७२४ रुपैयाँ बिगो मागदावी लिइएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख एवं जिल्ला न्यायधीवक्ता मुक्तिराम सुवेदीले जानकारी दिए। उनका अनुसार प्रतिवादीहरुको भोलिदेखि नै अदालती बयान शुरु हुने छ।

यसै मुद्दाका थप एक प्रतिवादी गृहमन्त्री लामिछानेको खातामा रकम जम्मा गरिदिने रोसनी गुरुङ्गसँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

जसमध्ये २ जना अदालतको आदेशले जिल्ला प्रहरी कार्यालय कास्कीको थुनामा रहेका छन् भने ६ जना रुपन्देही प्रहरीको हिरासतमा छन्। कास्कीमा थुनामा रहेका कुमार रम्तेल र भविश्वर अर्याल पनि प्रतिवादी छन्।

यस्तै, प्रतिवादीमध्येका सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, दुर्गा चापागाईँ पाण्डे, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन, दीपक न्यौपाने र निता थापा यस अघिनै पक्राउ परेका थिए भने लामिछानेको खातामा रकम जम्मा गरिदिने रोसनी आजैमात्र पक्राउ परेका जिल्ला न्यायधीवक्ता सुवेदीले जानकारी दिए।

प्रक्रिया पूरा नगरी लामिछानेलाई ऋण लगानी

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज जिल्ला अदालतमा दर्ता गरेको अभियोगपत्रमा जिबी राइको नाममा पेश्की, कर्जा र उनको खातामा डिपोजिट भएको रकम ६ करोड ६५ लाख ६१ हजार देखिएको उल्लेख छ।

यस्तै, पेश्की लगानी र विभिन्न व्यक्तिको नाममा कर्जा स्वीकृत गरी गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ साल ३६ हजार रुपैयाँ गएको अभियोग पत्रमा उल्लेख छ।  भुपेन्द्र बाबु राईको नाममा ३ करोड ३० लाख रकम कर्जा बनाई गोरखा मिडिया नेटवर्कको नामको पेश्की सेटल गरेको देखिएको उल्लेख छ।

सहकारीका १८ सय २८ जना बचतकर्ताहरुले आफूहरुको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ बचत डुबेको जाहेरीमा उल्लेख गरेका छन्।

प्रतिवादी जिबी राई, ओमप्रकाश गुरुङ, सागर केसी, भुपेन्द्र राई, देवेन्द्र राई र कुमार रम्तेलबाट ८१ करोड ५७ लाख ९६ हजार ५९ रुपैयाँ बिगो असुल गरी बचतकर्तालाई दिलाउन माग गरिएको छ।

यस्तै, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनविरुद्ध ३ लाख रुपैयाँ बिगो मागदावी गर्दै मुद्दा दायर भएको छ। ​प्रतिवादीमध्ये फरारको सूचीमा रहेका जीबी राईसहित २० जनाको नाममा पक्राउ पुर्जी जारी गरी कारबाही गर्नसमेत अभियोगपत्रमा माग गरिएको छ।

प्रतिवादीहरुलाई कसुर र बिगोअनुसार एक वर्षदेखि ८ वर्षसम्मकैद सजाय हुन माग गरिएको छ।