images
images

काठमाडौंका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीको छापा

काठमाडौं उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले छापा मारेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचना प्रहरीले पाएको थियो।

उक्त सूचना पाएसँगै प्रहरीले एकैदिन १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको हो।

यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको एसपी रेग्मीले बताए।

छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा अनुरोध गरिएको एसपी रेग्मीले बताए।

‘यी सवारी साधनमाथि आवश्यक कारबाही गर्न हामीले सम्बन्धित निकायलाई पत्र लेखिसकेका छौं,’ उनले भने, ‘ब्लुबुक नै नभएका र नवीकरण नगर्ने सवारीसाधनहरू भेटिएका छन्।’