फागुन २१ गते एमाले, माओवादी केन्द्र, रास्वापसहितको नयाँ गठबन्धन बनेपछि रास्वपाका नेताहरु भन्दा पनि अघि बढेर एमालेका नेताहरुले रविको बचाउन गर्दै आएका थिए। तर सोमबार लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीमा मुछिएको तथ्यसहित जिल्ला अदालतमा मुद्दा परेपछि एमालेको बोली एकाएक फेरिएको हो। ठगीमा संलग्न रहेको तथ्य प्रमाण पुगे पनि लामिछानेलाई प्रतिवादी भने बनाइएको छ।

उनले प्रत्यक्ष रुपमा दुई करोड र गोर्खा मिडिया नेटवकर्टको नाममा एक करोड ८० लाख लिएको अभियोग पत्रमा उल्लेख छ।

नयाँ गठबन्धन बनेपछि सत्ता बाहिरएर रास्वपा भित्रिएपछि विपक्षी कांग्रेसले लामिछानेलाई निशाना बनाउँदै आएको छ।

उनीमाथि संसदीय छानबिन हुनुपर्ने माग राख्दै कांग्रेसले संसद नै अवरुद्ध पारेपछि एमाले अध्यक्ष केपी शर्मा ओली त्रुद्ध भएका थिए। लामिछानेमाथिको माग ‘सत्ताबाट बाहिरिनु पर्दाको पीडा’ भन्दै कटाक्षसमेत गरेका थिए।

ओलीले गत चैत ६ गते धनगढी पुगेर रविलाई बद्नाम गर्न खोजेको भन्दै निर्दोष रहेको ‘फैसला’ नै सुनाए

धनगढीमा ओलीले भनेका थिए, ‘नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन, त्यसो भएको हुँदा रविलाई बदनाम गर्न खोज्ने फसाउने काम गरिएको हो। उजुरी दर्ता तपाईँको नाममा पनि हुन सक्छ । उजुरी दर्ताकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री खालि हुन्छ । संसद् खालि हुन्छ सबै खालि हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भइहाल्यो नि।’ संसदमा कांग्रेसले लामिछानेमाथि छानबिनको माग राख्दा एमाले सांसदहरुले प्रतिवाद गरेका थिए।

सोमबार लामिछानेमा सहकारी गठीमा प्रत्यक्ष रुपमा मुछिएको तथ्य सार्वजनिक भएसँगै ओलीसहित नेताहरुको बोली फेरिएको हो।

मंगलबार झापाको जिल्ला अधिवेशन उद्घाटनका लागि पुगेका ओलीले केही सहकारीले राम्रो काम गरे पनि केही मान्छे ठग्नका लागि स्थापना भएको टिप्पणी गरे। उनले गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारी क्षेत्रलाई नै बद्नाम गर्ने काम भइरहेको उल्लेख गरे। ‘केही सहकारीहरू केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ। त्यस्ता व्यक्तिहरू सहकारीमा पसेर सहकारीको बदनाम गरिरहेका छन्,’ ओलीले भने।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौताले लामिछानेमाथि राजनीतिक आवरणमा ढाकछोप गर्न नहुने र उठेका प्रश्नबारे रवि आफैँले जवाफ दिनुपर्ने बताएका छन्। यसअघि संसदमा रविको बचाउनमा सबैभन्दा बढी शक्ति खर्चिने पनि उनै हुन्।

त्यस्तै एमाले नेता आनन्द पोखरेलले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताए। मंगलबार रिपोर्टस क्लबमा पूर्वमन्त्री एवं एमाले बागमती प्रदेशको अध्यक्षसमेत रहेका पोखरेलले मिडियामा आएका तथ्यसहितका समाचारबारे लामिछानेले बोल्नुपर्ने बताएका हुन्।

उनले सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने टिप्पणी गरे। उनले भने, ‘सहकारी ठगी प्रकरणमा जोसुकै संलग्न भए पनि यो सहकारी ठगी प्रकरणमा को–को संलग्न भएका छन्, जोसुकै संलग्न भएको भएपनि, मेरो गृहमन्त्री र मुलुकको गृहमन्त्री रविजी यदि आज पत्रिकामा आएकोजस्तै उहाँले डेढ करोड भुक्तानी लिएको र कारोबार गरेको हो भने उहाँले अब दुनियाँलाई ढाँट्नुहुँदैन।’

पोखरेलले बदमासी गर्नेलाई बोक्न नहुने उल्लेख गरे। उनले भने, ‘एमालेले कसैले गल्ती, भ्रष्टाचार र बदमासी गर्छ भने त्यसलाई काँध थाप्न जरुरी छैन। आज जुन तथ्य आएका छन्, त्यो तथ्यमा सत्यता छ भने उहाँले यो मुलुकलाई आज बेलुका प्रेस मिट गरेर गृह मन्त्रालयबाट स्पष्टीकरण दिनुपर्छ । यथार्थ जनतासामू राख्नुपर्छ।´