images
images

मुलुकमा संकट आइपरे कांग्रेससँग पनि सहकार्य हुन्छः शंकर पोखरेल

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिन एमाले तयार रहेको बताएका छन्।

मुलुकलाई आरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोर्‍याउने कुरा नै एमालेको प्राथमिकताको विषय भएकाले राम्रो काम गर्दासम्म वर्तमान सरकारलाई नै निरन्तरता दिन एमाले तयार रहेको महासचिव पोखरेलको स्पष्टीकरण थियो।

उनले आलोपालो प्रधानमन्त्री भन्ने कुरामा नभई आफ्नो पार्टी राष्ट्र र जनताको भविष्यप्रति चिन्तित रहेको र त्यसैमा जोड दिएर अघि बढ्ने नीतिगत दृष्टिकोण बनाएको उल्लेख गरे।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले एमाले सत्ताका लाागि लालयित नभएको जिकिर गर्दै मुलुकलाई सही बाटोमा डोर्‍याउने संकल्पका साथ नयाँ सत्तासमीकरण बनाएको दाबी गरे।

उनले मुलुकमा लोकतन्त्र र परिवर्तनमाथि संकट आइपरे एमालेले कांग्रेससँग पनि मिलेर काम गर्ने मान्यता राखेको बताए।

महासचिव पोखरेलले भने,‘हामी सत्ताका लागि लालायित छैनौँ। पहिला पनि हामी सत्ता हाम्रो लागि प्राथमिकता होइन। मुलुकलाई सही बाटोमा डोर्‍याउने खालको कुरा प्राथमिकताको विषय हो भनेका थियौँ। अहिले पनि हामी नयाँ सत्ता समीकरण गर्दा खेरी पनि फलानो महत्वपूर्ण मन्त्रालय चाहिन्छ भनेर हामीले दाबी गरेनौँ। मुलुकलाई ओरालो यात्राबाट सुरक्षित भविष्यतर्फ डोर्‍याउने कुरा नै प्राथमिकताको विषय हो भन्ने नीतिगत हस्तक्षेप प्राथमिकताको विषय हो भन्ने अर्थमा हामीले प्रस्तुत गर्ने काम गरेका छौँ।’

उनले थपे, ‘कतिपयले प्रधानमन्त्रीमा आलोपालो भनेर सोध्ने गर्दछन्। हामी यो सरकारले राम्रो काम गर्छ भने हामी यसलाई निरन्तरता दिन तयार छौँ भनेर भनिराखेका छौँ। किनकि हाम्रो चिन्ता मुलुकप्रति हो, जनताप्रति हो। राष्ट्रको भविष्यप्रति हो भन्ने कुरा हामीले स्पष्ट रुपमा भन्दै आएका छौँ। र त्यही कुरामा जोड दिन चाहन्छौँ। कांग्रेससँग त हामीले स्वभाविक रुपले जतिबेला मुलुकमा लोकतन्त्रमाथि संकट आउँछ, जतिबेला परिवर्तनमाथि संकट आउँछ, त्यतिबेला मिलेर काम गर्नुपर्दछ भन्ने मान्यता राख्दै आएका छौँ।’