images
images

नेकपा एसलाई कमजोर ठान्ने भुल नगर्नू : माधव नेपाल

रौतहट : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सानो र कमजोर ठान्ने भुल नगर्न चेतावनी दिएका छन्। नेकपा एसलाई सानो र कमजोर ठानेमा ‘उलटपुलट’ हुन सक्ने चेतावनीसमेत उनले दिएका छन्।

रौतहटको गौर नगरपालिका–२ महादेवपर्टीस्थित बाणेश्वर महादेवस्थान नजिक लालबकैया नदीमा निर्मित झोलुङ्गे पुलको शुक्रवार उद्घाटन गर्दै नेता नेपालले यस्तो चेतावनी दिएका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै रौतहट क्षेत्र–१ का प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपा एसलाई सानो वा कमजोर ठान्ने भुल कसैले गरे सह्य हुन नसक्ने बताए।

‘हाम्रो भूमिका कसैभन्दा कम छैन, हामी कसैका दास होइनौँ, कसैको इशारामा हिँड्दैनौँ, हामी स्वाभिमानी छौँ र हाम्रो आफ्नै मूल्य मान्यता एवम् महत्व छुट्टै रहेको छ‚’ वर्तमान सत्ता गठबन्धनप्रति संकेत गर्दै उनले भने, ‘सुदूरपश्चिममा हाम्रो ४ सिट रहेको हुँदा अहिले मुख्यमन्त्रीमा हाम्रो दावी हो। बागमती, मधेशसहितका प्रदेशमा हाम्रो सहभागिताविना सरकार बनाउने कल्पना गर्न सकिन्न त्यसैले हाम्रो महत्व कसैभन्दा कम रहेको छैन।’

अध्यक्ष नेपालले गौरमा एक प्रवेशद्वारको शिलान्यास तथा अर्को योजनाको उद्घाटनसमेत गरेका छन्।

चालु आर्थिक वर्ष गौर नगरपालिकाको नगरस्तरीय योजनाबाट गौर नगरपालिका–७ सिसवास्थित गौर चन्द्रनिगाहपुर सडकखण्डमा निर्माण हुने नगर प्रवेशद्वारको अध्यक्ष नेपालले शिलान्यास पनि गरे।

राजपुर नगरपालिका र गौर नगरपालिकाबीच सिमानामा निर्माण हुन लागेको गौर नगरपालिका प्रवेशद्वारले गौर नगरपालिकाको सीमा प्रारम्भ र राजपुरको अन्त्य भएको संकेत गर्नेछ।

६७ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त नगरस्तरीय प्रवेशद्वारको ठेक्का अनमोल निर्माण सेवा गौर नगरपालिका– ४ लाई परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले जानकारी दिए।

२०८२ साल वैशाखभित्र निर्माण सकिने सो प्रवेशद्वारको लम्बाइ करिब १०० फिट रहने बताइएको छ। प्रवेशद्वारको निर्माण गौर-चन्द्रनिगाहपुर सडकको ४ लेनमा हुने विस्तारलाई मध्यनजर गर्दै डिजाइन गरिएको हो।