images
images

गण्डकी सरकारः चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

काठमाडौँ-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार बिहान मन्त्रालयको जिम्मेवारी बाँडफाँट गरेका छन्।

बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला तथा राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

बिहान बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीको जिम्मेवारी बाँडफाँट गरिएको र चुमानको आइतबारमात्र पदभार ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्री कार्यलयले जनाएको छ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत माओवादी संसदीय दलको सदस्यका हैसियतले दाबी पेस गरेपछि चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि सोही दिन अधिकारीले ३ सदस्यीय मनित्रपरिषद् गठन गरेका थिए।

चुमान र मनाङेलाई बिनाविभागीय मन्त्री बनाएका अधिकारीले ७ गते विश्वासको मत लिने गरी संसद अधिवेशन आह्वान गरेका थिए।

विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको र संसदमा दुई दिन अगाडि सूचनासमेत नपठाएपछि शुक्रबार कांग्रेसको बहिस्कारका बाबजुद अधिवेशन सुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ।

त्यसको भोलिपल्टै शनिबार बिहान अधिकारीले चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी सुम्पिएका हुन्।