images
images

वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भयो- एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको बताएका छन् ।

शनिबार ललितपुरको गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी सरकार ढालेर पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भएको र जनमतबाट अस्वीकृत भएको बताएका हुन् ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘कम्युनिस्ट आन्दोलनलाई विभाजित गर्ने र वामपन्थी सरकार ढालेर पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भयो । हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झुटो थियो र खण्डित भयो ।’

अध्यक्ष ओलीले २०७९ को निर्वाचनमा ६ दलले घेराबन्दी गरे पनि त्यसलाई चिर्न एमाले सफल भएको बताए । ‘ २०७९ को निर्वाचनमा एमालेविरुद्ध सत्तामा रहेका ६ दलको घेराबन्दी थियो । तर, पनि हामीले त्यसलाई चिर्न सफल भयौँ,’ उनले भने ।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेविरुद्ध सत्ता पक्षले साधन र स्रोतको दुरुपयोग गर्नुका साथै निर्वाचन आयोगलाई पनि प्रभावित पारेको आरोप लगाए ।  उनले एमालेले निर्वाचन होइन एक किसिमले युद्ध नै लड्नुपरेको स्मरण गरे ।