अहिलेको सत्ता समीकरण पूरै अवधि जान्छ : प्रधानमन्त्री प्रचण्ड

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले(माओवादीसहितको समीकरण पूरै अवधि जाने बताएका छन् ।अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ ।

आज धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भएपनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण ।’

‘समीकरण वामपन्थीको मात्र गरेको हैन, वाम एकता भन्नु सही पनि छैन, वाम गैरवाम सबै छन् । यसलाई सत्ता समीकरणको रूपमा लिएका छौं । राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ । अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं’, प्रधानमन्त्रीले भने ।