नक्कली शैक्षिक प्रमाणपत्र लिएर सेवा प्रवेश गर्ने सशस्त्र प्रहरी निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका निरीक्षक प्रकाशबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सशस्त्र प्रहरी बल ३६ नं. गण हेडक्वार्टर डोटीमा कार्यरत चन्दविरुद्ध सोमबार अख्तियारले विशेष अदातलमा मुद्दा दायर गरेको हो ।

चन्दले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश बोर्ड अफ हाइ स्कुल एण्ड इन्टरमिडिएट एजुकेसन युपीबाट जारी भएको १०+२ को शैक्षिक प्रमाणपत्र नक्कली बनाएको पाइएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कैद र जरिवाना मागदाबी लिइएको छ । उक्त दफामा झुटा विवरण दिइ सरकारी लाभ सुविधा लिएको कसूरमा संलग्नलाई ६ महिनादेखि १ वर्षसम्म कैद सजाय र १० रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।