images
images

ललितपुरमा निःशुल्क पाठेघर र स्तन क्यान्सरकाे परीक्षण सुरु

ललितपुर । ललितपुर महानगरपालिकामा आजदेखि महिलाका लागि पाठेघर र स्तन क्यान्सरको परीक्षण सुरु भएको छ । महानगरको जनस्वास्थ्य महाशाखाले आज ललितपुर महानगरपालिका–१४ तिखेदवलमबाट शिविर सञ्चालन गरी गरी महिलामा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने तथा फिस्टुलासम्बन्धी निःशुल्क क्यान्सर परीक्षण सुरु गरेको हो ।

शिविर शुभारम्भ गर्दै सामाजिक विकास समितिका संयोजक एवं महानगरका प्रवक्ता राजु महर्जनले एचपिभीडिएनए विधिद्वारा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी क्यान्सर रोग लाग्नबाट बचाउने अभियान थालिएको बताए ।

“हामीले पाठेघर क्यान्सर रोकथामका लागि गत वर्षदेखि अभिमुखीकरण र स्क्रिनिङ कार्यक्रम सुरु गरेका थियौँ । गत वर्ष आठ वडामा भएको कार्यक्रम यस वर्ष २९ वटै वडामा गरिनेछ । पहिला अभिमुखीकरण, त्यसपछि परीक्षण र परीक्षणपछि डाक्टरको परामर्शमा निःशुल्क उपचार गरिनेछ”, प्रवक्ता महर्जनले भने । ललितपुर महानगरले  स्वास्थ क्षेत्रमा ज्येष्ठ नागरिकलाई निमोनियाबाट बचाउन विगत दुई वर्षदेखि निःशुल्क खोप सेवासमेत सञ्चालन गर्दै आएको जानकारी गराउनुहुँदै उहाँले गत महिना चार सय जनालाई खोप दिइएको बताए ।

महानगरले ज्येष्ठ नागरिकसँग महानगर कार्यक्रमअन्तर्गत चिकित्सकसहित घरमै सेवा प्रदान गरिरहेको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा एम्बुलेन्स नै लिएर गएर अस्पतालसम्म ल्याउने व्यवस्थासमेत रहेको बताए । हरेक क्षेत्रमा अन्य पालिकामा भन्दा महानगरले अलि फरक तरिकाले व्यवस्थापन गर्दै आइरहेको प्रवक्ता महर्जनको भनाइ छ । स्वास्थ्य बिमामा आबद्ध भएका र हुनेहरुका लागि ५० प्रतिशत बिमा शुल्क वडाले बेहोर्ने तयारी भइरहेको उनले जानकारी दिए । हाल महानगरले यल स्वास्थ्य केन्द्र स्थापना गरेर बिमाका बिरामीलाई २४ सैँ घण्टा चिकित्सक, ल्याब, एक्सरे र औषधिसहितको सेवा प्रदान गर्दै आइरहेको छ ।

ललितपुर महानगर–१४ का वडाध्यक्ष अमृतजङ्ग महतले महानगरले भौतिक विकासलाई मात्रै प्राथमिकता नदिएर सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिएको बताए । “समाजलाई स्वस्थ बनाउन महानगरले चालेको यो एक महत्वपूर्ण कदम हो, त्यति मात्रै होइन, महानगरले महिला र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई धेरै प्राथमिकता दिएको छ भन्ने प्रमाण पनि हो”, उनले भने ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा विवेककुमार लालले सरकारले यस वर्षको अन्त्यसम्ममा ४५ हजारभन्दा बढी महिलाको एचपिभी डिएनएबाट स्क्रिनिङ गर्ने लक्ष्य लिएको बताए । सरकारले आव २०८०÷८१ मा कोशी, मधेस र बागमती र लुम्बिनीका आठ जिल्लाका १४ स्थानीय तहबाट एचपिभी डिएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सेवा सुरु गरेको हो ।

नेपाल क्यान्सर केयर फाउन्डेसनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा  सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण गर्नका लागि संसारभरिमै हालसम्म उपलब्ध विधिमध्ये एचपिभी डिइनए प्रभावकारी विधि हो । जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले प्रत्येक १० जनामध्ये सात जनालाई नसर्ने रोग लाग्ने गरेको तथ्याङ्क रहेको बताइन् ।

महिलामा अन्य क्यान्सरको तुलनामा स्तन र पाठेघरको क्यान्सर धेरै देखिएको बताउँदै समयमै थाहा पाउन सके स्तन र पाठेघरको क्यान्सर निको पार्न सकिने जानकारी गराए । महानगरकी जनस्वास्थ्य महाशाखा प्रमुख सरिता महर्जनले गत वर्ष आठवटा वडामा एचपिभी डिएनए विधिद्वारा एक हजार तीन सय महिलामा परीक्षण गर्दा झण्डै १४ प्रतिशतमा पोजेटिभ देखिएको र अहिले उनीहरुको उपचार महानगरले गराइराखेको जानकारी गराइन । उनले यस वर्ष हुने स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूहभित्रका महिलाको स्वास्थ्य परीक्षण गरिने बताइन्  ।