images
images

आर्थिक वृद्धिको गति बढाउनेगरी योजना बनाउन आवश्यक छ: मन्त्री अर्याल

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन्।

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले योजनाहरू सफल पार्नुभन्दाअघि विगतका योजनाहरू कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने बताए।

 गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रबिन्दु रोजगारी भएकाले आर्थिक वृद्धिको गति बढाउने योजना अघि सार्न आवश्यक रहेको उनको भनाइ थियो।

मन्त्री अर्यालले एउटा योजनामा सबै समेट्ने कारणले श्रोत छरिने हुँदा विकास सम्भव नहुने भन्दै रोजगारमूलक आर्थिक विकासको लागि कृषि र उद्योगको विकास महत्त्वपूर्ण रहेको जिकिर गरे।

पूर्वाधार विकास, सेवा प्रवाहमा कमजोरी, प्रदेश संरचना, खर्चमा पुँजीको विषय र संघीयता आइसकेपछि तीन तहकै सरकारलाई संघीयताको विषयमा दिइएको प्रशिक्षणले पनि योजना सफल पार्न भूमिका खेल्ने उनको भनाइ छ।

भ्रष्टाचारको अन्त्य गर्नको लागि राजनीतिक दल, निजी क्षेत्र, कर्मचारीतन्त्र सबै एकजुट भएर लाग्न नसके आफूहरूले बनाउने योजनाहरूले सफलता पाउने कुरामा प्रश्न उठ्ने उनले बताए।

मन्त्री  अर्यालले भने, ‘संघीयताको प्रयोग हाम्रा सबै राजनीतिक दलले र कर्मचारी तन्त्रमा नयाँ हो। यस विषयमा महत्त्वपूर्ण बहस गर्नुपर्छ। स्वास्थ्य र शिक्षामा गरिरहेका लगानी र प्रतिफलको निर्मम समीक्षा हुनुपर्दछ । भ्रष्टाचारको अन्त्य गर्नुपर्छ। हामीले जतिसुकै योजना बनाएपछि र कुरा गरेपनि यदि हामी सुशासनका लागि निर्मम हुन सकेनौं भने भ्रष्टाचारको अन्त्य गर्नको लागि राजनीतिक दल, निजी क्षेत्र, कर्मचारीतन्त्र सबै एकजुट भएर लाग्न नसके हामीले बनाउने योजनाहरूले सफलता पाउने कुरामा प्रश्न नै प्रश्न हुन्छन्।’

उनले योजनाहरू सफल बनाउन कर्मचारीतन्त्रले विशेष ध्यान दिन जरुरी रहेको बताए। कर्मचारी, राजनीतिक नेतृत्व र मन्त्रीहरूबीचमा विश्वासको खाडल परेको उनको भनाइ छ।