images
images

इलाम र बझाङ उपनिर्वाचन: मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल

काठमाडौं : निर्वाचन आयोगले इलाम-२ र बझाङ-१ (१)मा हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ। आयोगले शुक्रबार विज्ञप्ति जारी गरी इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१) मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको हो। अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन अनुगमन निरीक्षणको काम प्रभावकारीरूपमा भइरहेको पनि आयोगले जनाएको छ। ‘निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने ४८ घण्टा अघि शुरु भएको प्रचारप्रसार निधेषको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ’, आयोगको प्रेस विज्ञप्तिमा भनिएको छ। निर्वाचनको स्वच्छता, निष्पक्षता र पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताको सहज आवागमनका लागि सार्वजनिक सवारी सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको पनि आयोगले जनाएको छ।