images
images

इलाममा तीन मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा मतदान

इलाम । इलाम २ मा भइरहेको उपनिर्वाचनअन्तर्गत तीन मतदान केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । इलाम नगरपालिका ५ तोरीबारी, इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्र र इलाम विद्या मन्दिर मतदान केन्द्रमा महिलाको नेतृत्वमा मतदान भइरहेको हो ।

इलाम नगरपालिका ५ तोरीबारीको सप्तमाई गुरुकुल संस्कृत विद्याश्रम मध्यामिक विद्यालय मतदान
केन्द्रमा  योभन्दा अघिका निर्वाचनमा सहायक मतदान अधिकृतको जिम्मेवारी पूरा गरेको अनुभव बोकेकी तारा श्रेष्ठ त्यहाँको मतदान अधिकृत बनेकी छन्।  सबैको सहयोग रहेको र मतदान शान्तिपूर्ण भइरहेको उनले बताइन् । मतदान केन्द्रमा प्रहरीबाहेक सबै कर्मचार महिला रहेको उनले बताइन् । मतदान केन्द्रमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको थियो । त्यहाँ महिला मतदान अधिकृत र पाँच महिला कर्मचारीले मतदान गराउने जिम्मा पाएका छन्।

इलाम निर्वाचन क्षेत्र न २ मा भइरहेको उपनिर्वाचनमा १४९ मतदान अधिकृतमध्ये तीनजना महिला मतदान अधिकृतहरुलाई महिलाहरु कर्मचारीको मात्रै संलग्नतामा मतदान सम्पन्न गर्न जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

इलाम नगरपालिका ७ को मरब क्याम्पसको ‘क’ मतदान केन्द्रमा मतदान अधिकृत मीना आचार्यसहित पाँचजना महिला कर्मचारी खटिएका भने इलाम विद्या मन्दिरमा हिमज्योति घिमिरेसहित पाँचजना महिला कर्मचारी खटिएका छन् ।

मतदानमा महिला कर्मचारीहरू मतदान केन्द्र व्यवस्थापनमा अब्बल देखिएका छन् ।  विगत केही निर्वाचनदेखि इलाममा सुरु भएको महिला कर्मचारीहरूलाई मतदान केन्द्रहरू व्यवस्थापन गर्न दिने अभ्यासमा महिला कर्मचारीहरू अब्बल सावित हुँदै गएका हुन्।

ती केन्द्रहरूमा प्रहरीबाहेक सबै कर्मचारी महिला रहेका छन् । जोखिमपूर्ण काम पुरुषले मात्र गर्न सक्छन् भन्ने मान्यतालाई उनीहरूको कामले गतिलो झापड हानेको मतदाताहरूले प्रतिक्रिया दिएका छन्।