गोरखाको कृषि ज्ञान केन्द्रका प्रमुख निलकण्ठ पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखा । कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख निलकण्ठ पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ । गत २७ चैतमा अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त कार्यालय प्रमुख भएको बेला स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको पकवादी कृषि सहकारी संस्थाको भवन बनाउन निर्देशनालयबाट दिइने अनुदानमा हिनामिना गरेको आरोप पोखरेलमाथि छ ।

आयोगले निर्देशनालयका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेलसहित पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित ८ जना उपर विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

पोखरेलले जग्गा यकिन नगरी नक्सा पासबिनै सहकारीसँग २८ लाख ३७ हजार २१७ रुपैयाँ अनुदान सम्झौता गरेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार पोखरेलमाथि एउटा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र मापदण्ड मिचेकोलगायत समेत उजुरी परेको छ । उनले भने, ‘उजुरी परेपछि हामीले अनुसन्धान गर्दा सम्झौताविपरीत काम भएको पायौं, अनि आरोप पत्र दायर गरेका हौं ।’

पोखरेललाई कैद र बिगो रकम बमोजिम जरिवानासहित बिगो असुलउपर गर्न मागदाबी गरिएको घिमिरेले जानकारी दिए ।