images
images

उपनिर्वाचनबाट मूलधारका पार्टी कांग्रेस–एमाले नै हुन् भन्ने प्रमाणित भयोः रामहरि खतिवडा

काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले इलाम र बझाङमा भएको उपनिर्वाचनले देशमा कांग्रेस र एमाले नै मूलधारका पार्टीहरु हुन् भन्ने प्रमाणित गरेको बताएका छन्।

मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद खतिवडाले उपनिर्वाचनको मत परिणामले नेपाली राजनीतिमा कांग्रेस र एमाले नै मूलधारका पार्टी हुन् भन्ने प्रमाणित गरेको बताएका हुन्।

उनले निर्वाचनले धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको टिप्पणी गरे। उनले इलाममा एमाले महागठबन्धन बनाएर निर्वाचनमा गएकाले जितेको बताए।

उनले उपनिर्वाचनबाट कांग्रेस, एमाले स्थापित भएका र चटकेहरु साइडमा आएका बताए। सांसद खतिवडाले २०८४ सालसम्म चटकेहरु ठीक हुने टिप्पणी गरे।

उनले भने,‘निर्वाचन परिणाम आइसक्यो। राम्रो भएको छ। अहिलेका धेरै क्रान्तिकारीहरुलाई पनि ठेगानमा ल्याइदिएको छ। नेपालमा राजनीति गरेका दुई वटा पार्टीहरु नेपाली काँग्रेस र नेकपा (एमाले) नै मेनस्ट्रिमका पार्टी हुन् भन्ने अहिले प्रमाणित गरेको छ। हिजो हाम्रो गठबन्धन थियो थोरै मतले पराजित भएका थियौँ। अहिले गठबन्धनले जितेको छ, इलामको चुनावमा हामी कमजोर भएका छैनौँ। कांग्रेस त्यहाँ कमजोर छैन। उहाँहरुको माओवादी केन्द्र, नेपाल परिवार दल, नेपाल कम्युनिस्ट पार्टी सबैसँग महागठबन्धन नै थियो। महागठबन्धनले जितेको छ। हामी एक्लै सम्मानजनक रुपमा छौँ। नेपालको राजनीतिमा अहिले एउटा भाष्य निर्माण भएको छ। दुई वटा पार्टी स्थापित भएका छन्। अहिले चटकेहरु विस्तारै साइडमा आएका छन्। ०८४ सालसम्म चटके ठीक हुन्छन्।’