images
images

राखेपको स्वीकृति नलिएका एन्फा पदाधिकारीलाई बेलायत भ्रमणमा रोक लगाउन खेलकुदमन्त्रीको निर्देशन

काठमाडौँ – खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघसँग भिसाका कारण खेलाडी बेलायत जान नपाएको विषयमा जानकारी लिएका छन्। साथै राखेपको स्वीकृतिबेगर बेलायत भ्रमणमा जान लागेका पदाधिकारीको भ्रमण रोक्न निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंक लाल घिसिङ र एन्फा महासचिव किरण राईसँग छलफल गर्दै भिसा समस्याका साथमा राखेपबाट स्वीकृति नलिई इंग्ल्यान्ड भ्रमणमा आफ्नै खर्चमा जान लागेका १५ पदाधिकारीलाई स्वीकृत बिना भ्रमणमा जान नपाउने र गृह मन्त्रालयलाई पत्रचार गर्दै स्वीकृति बेगरका पदाधिकारीको भ्रमण रोक्न आग्रह गर्ने जनाएका छन्।

बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भीसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवसँग आज छलफल भएको थियो।

भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले आज रातिसम्म भीसा आउने बताए। एन्फाले मैत्रीपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र सोमबार स्वीकृति दिएको सदस्य सचिव टंक लाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए। यसबाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतिको लागि परिषद्मा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे।

यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गरे। उनले बाँकी २० जना आफ्नै खर्चमा जाने पनि बताए। तर, एन्फाले उनीहरूको भिसाको लागि बेलायती राजदूतावासमा भिसाको लागि सिफारिस गरेको पनि बताए।

राष्ट्रिय खेलकुद ऐनअनुसार खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोहीबमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिनुपर्ने निर्णय युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले गरेका छन। स्वीकृति नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन्।

युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृतिबिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको जनाएको छ। भिसा समस्या समाधान भएमा आज मध्यराति र बुधबार बिहानसम्ममा टोली बेलायत उड्ने छ।