भाजपाको चुनावी अभियानमा नेपालका पाँच दललाई निम्तो, कुन पार्टीबाट को जाँदैछन् ? [विज्ञप्ति सहित]

काठमाडौं भारतीय जनता पार्टीले जारी लोकसभाका लागि जारी चुनावी अभियान हेर्न नेपालका ५ दललाई निम्तो पठाएको छ ।

भाजपाले नेपालका ५ वटा दलहरूसहित विश्वका १८ दलका नेताहरूलाई चुनावी अभियान हेर्न निम्तो पठाएको हो । निम्तो पाएका दलका नेताहरू बुधबार नै दिल्ली पुग्दैछन् ।

भाजपाले नेपालबाट नेपाली कांग्रेस र नेकपा एमालेसहित बंगलादेशबाट शेख हसिनाको पार्टी अवामी लिग र रसियन राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीलाई पनि निम्तो पठाएको छ ।

भाजपाले ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात् भाजपाबारे बुझाउन १८ दलका नेताहरूलाई दिल्ली बोलाइएको हो । भाजपाका विदेश विभाग इन्चार्ज डा। विजय चौथाइवालेले बुधबार विज्ञप्ति निकालेर नेपालसहित विश्वका १८ दललाई चुनावी अभियान हेर्न बोलाइएको जानकारी दिएका छन् ।

भाजपाको निम्तो पाउनेमा ५ वटा नेपाली दलहरू रहेका छन् । जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी रहेका छन् । नेपालबाट जाने टोलीलाई भाजपा मुख्यालयमा उक्त पार्टीका अध्यक्ष जेपी नड्डाले बुधबार स्वागत गर्दैछन् ।

भाजपाले डा। सीके राउत नेतृत्वको जनमतलाई बोलाए पनि अन्य मधेसवादी दललाई निम्तो दिएको छैन । भाजपाले उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेतृत्वको लोसपालाई प्राथमिकता नदिई सीके नेतृत्वको जनमतलाई दिल्लीमा स्वागत गर्न लागेको हो ।

यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने भाजपाले जनाएको छ । उनीहरुलाई बिजेपीको चुनावी अभियान र उसको रणनीतिसहित समग्र चुनावी प्रक्रियाबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको चौथाइवालेले जनाएका छन् ।
नेपालबाट कांग्रेसका उदय शमसेर जबरा,एमालेका उपमहासचिव बिष्णु रिमाल,माओवादी केन्द्रका नेता मात्रिका यादव,रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत यस कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कार्यक्रममा भियतनामको सत्तारुढन कम्युनिस्ट पार्टीसहित विभिन्न देशका दलहरुका प्रतिनिधिहरु सामेल छन् । उनीहरुलाई विभिन्न राज्यमा भइरहेका चुनावी अभियानमा समेत अवलोकन गराइने छ ।