अबको दशक आन्तरिक रोजगारी दशक हुनेछ : मन्त्री अर्याल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन्।

बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन्। उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताए।

उनले सीपलाई अबको एक दशक देशमा सीपमूलक तालिमहरु दिनुपर्ने बताए। उनले सोहीअनुसार मन्त्रालयले योजना बनाई काम गरिरहेको जिकिर गरे।

उनले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताए।

उनले भने, ‘आन्तरिक रोजगारी सिर्जना गर्नका लागि र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसाय सञ्चालन गर्नको लागि त्यसमा गहन रुपमा हामी काम गरिरहेका छौँ। आन्तरिक रोजगार दशक र आन्तरिक रुपमा नै हामीले सिपलाई अबको एक दशक यो देशमा सिपमुलक तालिमहरु दिनुपर्छ भनेर योजना बनाइ काम गर्ने तयारी गरिरहेका छौँ। काम अघि बढाइरहेका छौँ। वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिहेका छौँ।’

मन्त्री अर्यालले देश समृद्ध बनाउन स्वदेशमै रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताए। उनले शिक्षा नीति र बजारको माग नमिलेकाले अहिलेको प्रविधियुक्त मागलाई परिपूर्ति गर्नेगरी काम गरिरहेको बताए।