नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन्।चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको बताए।
‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन,’ उनले भने, ‘धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’
अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रष्ट्याए। उनले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए।
‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो। त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे,’ नेपालले भने, ‘तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’