सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने तयारी

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । आज साँझ ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

तर मुख्यमन्त्री सोडारीलाई अन्तिम समयमा समर्थन गरेर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको एमालेले विश्वासको मत दिने विषयमा भने निर्णय गरिसकेको छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधर प्रदेशसभा सदस्यले गैर संवैधानिक, गैर प्रजातान्त्रिक र संसदीय मर्यादा विपरीत मुख्यमन्त्री नियुक्त गरिएको भन्दै बैठकमा कडा प्रतिवाद गर्ने निर्णय गरेका छन् । दुवै दलले संसद्भित्र र बाहिर वाट प्रतिवाद गर्दै सदन चल्न नदिने चेतावनी दिएका छन् ।

मुख्यमन्त्रीले हाल नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन् । अन्य मन्त्रालय आफैंले राखेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी उनको छ ।