images

बालेनलाई लक्षित गर्दै ओलीले भनेः सुकुम्बासीका छाप्रामा डोजर नचलाउनुस्

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने काम नगर्न काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन्।

लालपूर्जा नभएको भन्दै सुकुम्बासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र शाहले निरन्तरता दिइरहेका बेला ओलीले बस्ती भत्काउने अभियान नभई निर्माणको अभियान सुरु गर्नुपर्ने बताए।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मेयर शाहलाई सुकुम्बासीमाथि ज्यादती नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने? भनि प्रश्न पनि गरे।

सुकुम्बासीहरुको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाइ थियो। उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भीरतापूर्वक छलफल गरिरहेको दाबी गरे।

‘जनताप्रति उत्तरदायित्व नलिने, अनुतरदायी, गरिब भनेको देख्न नसक्ने, सुकुम्बासी देख्नै नहुने, अनि मैले पोहोर, परारको साल पनि भनेको थिँए– सुकुम्बासीका प्लाष्टिक हालेका छाप्रा छन्। भत्काउन जान्छ डोजर। सुकुम्बासीका प्लाष्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ? कर्कला फाँड्न बञ्चरो लिएर जाने? सुकुम्बासीको समस्या समाधान गर्नुपर्‍यो। डोजर देखाउने होइन सुकुम्बासीलाई। डोजर गरिबले नै चलाउने हुन्। कुनै धनीले, पुँजीपतिले डोजर चलाएको थाहा छैन। गरिबका छोरोले डोजर चलाउने हो। तिनलाई आफ्नैविरुद्ध डोजर चलाउन नलगाउनुस्,’ उनले भने।