मीनबहादुर बुढा (भेलुबाजे)को मृत्यु शंकास्पद

काठमाडौं । सामाजिक सञ्जाल र युट्युबमा भेलुबाजेका नामले भाइरल प्युठानका मीनबहादुर बुढाको निधनको कारण कुटपिट भएको खुलासा भएको छ । बिहीबार प्युठान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनको बुटवल लगेर पोस्टमार्टम गरिँदै छ ।

मृत्युको कारण पोस्टमार्टम रिर्पोटमा आउनसक्ने ठानिए पनि चार दिनअघि भेलुबाजेमाथी आक्रमण भएको उनका ज्वाइँ तेजेन्द्र परिवारले बताएका छन् ।  गीता केसी नाम गरेकी भेलुबाजेकी छिमेकी टिकटक लाइभमा बस्थिन् । उनले आफ्नो लाइभमा भेलुबाजेलाई देखाउँथिन् । उनीसँग कुरा गर्थिन् । गत सोमबार भेलुबाजे र गीता बीच भनाभन हुँदा गीताले भेलुबाजेलाई निर्घात कुटपिट गरेको तेजेन्द्रले आरोप लगाएका छन् ।

‘‘मर्नुअघि उहाँले भन्नुभएको थियो, मलाई गीताले कुटेकी हो भनेर । उहाँ त्यही दिनदेखि बिरामी हुनुभयो । केही खान सक्नुभएको थिएन । घटनाको समयमा उहाँको कमिज पनि च्यातिएर दुई टुक्रा भएको थियो । शरीरमा नीलडाम पनि थियो । टिसर्ट पनि च्यातिएको थियो भन्नुभयो’’ तेजेन्द्रले भने ।

गीताविरुद्ध तेजेन्द्रले जिल्ला प्रहरी कार्यालय प्युठानमा उजुरी दिएका छन् । प्रहरीले भने पोस्टमार्टम रिर्पोटका आधारमा अनुसन्धान अघि बढाउने बताएको तेजेन्द्रले बताए ।

केही महिना अगाडि पनि भेलुबाजे बिरामी भएका थिए । अत्यधिक मादकपदार्थ सेवनको कारण बिरामी परेका उनलाई काठमाडौंमा उपचार गरेर गाउँ फर्काइएको थियो ।

उपचारपछि स्वास्थ्यमा सुधार देखिएको थियो । चार दिनयता खाना खाएका थिएनन् । बिहीबार सास फेर्न समेत सकस भएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । भेलु बाजेलाई आफन्तले बिहीबार बिहान ११ अस्पताल पुर्‍याएका थिए । दिउँसो निधन भएको हो । उनकी श्रीमतीको पनि गत भदौमा निधन भएको थियो ।