औद्योगिक व्यापार मेलाको नारा– ‘खोजौं नेपाली, रोजौं नेपाली, नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’

काठमाडौं । नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले हिजो बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भएको जाजकारी दिएको हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजना गर्न लागेको हो ।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औं श्रृङ्खला ‘नेपाल १७औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

मुलुकभरका झण्डै छ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्वित गर्ने प्रदर्शनीको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ रहेको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले भने, ‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेको भए पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।’

यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडिदेखि नै नियमित रूपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको उनको भनाइ छ ।

विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्न सुरू गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १७आंै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ को नाममा आयोजना हुने उनले बताए । यसपटकको मेलामा पाँचौ राष्ट्रिय मह मेला पनि सञ्चालन हुने जानकारी अध्यक्ष सिंहले दिएका छन् ।

नेपालका तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी र बीटुजी जस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रूपमा रहने अध्यक्ष सिंहले बताए ।

यसैगरी, नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियनमार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको महासंघले जनाएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

मेलामा काठ, ढुङ्गा, धातु कला, सेरामिक्स, भाँडाकुँडाहरू बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामानहरू, गलैंचा, राडीपाखी पश्मिनाका वस्तुहरू तथा अन्य ऊनी कपडाहरू, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधिहरू, नेपाली हाते कागजका वस्तुहरू, परम्परागत हस्तकलाका सामानहरू, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरू, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्थाहरू, वैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरू र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिने बताइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह–आयोजकको रूपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, काठमाडौं महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड रहेका छन् ।

यस्तै प्रवद्र्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगपालिका रहेका छन् । यस मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सेजले गरेको छ ।