विद्यालयमा लागुपदार्थ दुर्व्यसनविरुद्ध जनचेतना कार्यक्रम

काठमाडौं : युवाहरूमा बढ्दो लागुऔषध प्रयोग र यसको निवारणका निमित्त काठमाडौंको बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयमा बिहीबार सचेतना कार्यक्रम आयोजना गरिएको छ।

तारकेश्वर–१ मा रहेको नमोबुद्ध ड्रग एन्ड अल्कोहल ट्रिटमेन्ट एन्ड रिहाब्लिटेसन सेन्टर र श्री महाँकाल बागबजार क्लबको सहआयोजनामा विद्यार्थी र स्थानीय युवाहरूलाई लागु पदार्थ दुर्व्यसनविरुद्ध जनसचेतना स्वरुप लागुऔषधले मानसिक, शारीरिक तथा सामाजिक कुराहरूमा ल्याउने हलचलबारे प्रकाश पारिएको थियो।

लागुपदार्थ दुर्व्यसन कुनै गाउँ, टोलको समस्या नभइ राष्ट्रकै समस्या भएको र यसको उपचार सम्भव रहेको रिहाब्लिटेसनका परामर्शदाता तथा सञ्चालक ओमकारविक्रम कुँवरले बताए।

उनले भने, ‘बालबालिकामा कुनै पनि किसिमको कुलत हुनु अगाडि नै त्यसको असरबारे जानकारी होस् भन्ने हाम्रो प्रयास हो।’ उक्त कार्यक्रममा सञ्चालक कुँवर र रिहाब्लिटेसनका निर्देशक निशान देउलाले लागुपदार्थ दुर्व्यसनमा कसरी फसिन्छ र त्यसको उपचारका रुपमा मनोपरामर्श, आफ्नै मनोबल र परिवारको साथ आवश्यक रहने कुरा उल्लेख गरेका थिए। सोही कार्यक्रममा लागु औषधको सेवनले निम्त्याउने दुष्परिणामबारेको लघु चलचित्र पनि देखाइएको थियो। तारकेश्वरमा रहेको उक्त नमोबुद्ध रिहाब्लिटेसन २०७५ सालमा स्थापना भएको हो।

संस्थाले हालसम्म काठमाडौं, ललितपुर, नुवाकोट र चितवनका विभिन्न स्कुलहरूमा लागुपदार्थ दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ र आगामी दिनमा यसलाई थप विस्तार गरिने जनाएको छ।