गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते आइतबार गण्डकी प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबाट गत चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेशसभामा वैशाख २३ गते विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते दिनको ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना शुक्रबार गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।