images
images
images

अन्तिम खेलमा वेष्ट इन्डिज ‘ए’माथि नेपालको सानदार जित

काठमाडौँ – नेपाल र वेस्टइन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० सिरिजको अन्तिम खेलमा नेपालले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरेको छ। जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य ७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा ओपनर आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले। ओपनर कुशल भुर्तेललाई १३ रनमै गुमाए पनि अर्का ओपनर आरिफ शेख र तेस्रो नम्बरमा ब्याटिङका लागि आएका अनिल साहले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार गरेका थिए।

आसिफ ३५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५१ रन बनाएर आउट हुँदा अनिल साहले ४५ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ५८ रन बनाए। उनीबाहेक कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३७ रनको नटआउट इनिङ खेलेका थिए। दीपेन्द्र ५ रन बनाएर आउट भए। क्रिजमा आए पनि कप्तान रोहित पौडेलले भने बल फेस गर्नु परेन।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। वेस्टइन्डिजका लागि जोनसोन चार्लेसले २४ रन बनाउँदा अलिक अथान्जेले ४२ रनको अविजित इनिङ खेलेका थिए।

त्यस्तै, कप्तान रोस्टन चेजले ३३ रन बनाउँदा म्याथ्यु फोर्डले २३ रन बनाए। थप दोहोरो स्कोरका रुपमा कडिम एलियन र मार्क ड्यालीले समान ११ रन बनाएका थिए।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले समान ३–३ विकेट लिँदा अभिनाश बोहराको नाममा १ विकेट रह्यो। पाँच खेलको सिरिज नेपालले यसअघि नै गुमाइसकेको छ। अघिल्ला ४ खेलमा ३–१ ले सिरिज गुमाइसकेको थियो। योसँगै सिरिजमा ३–२ ले वेस्टइन्डिजले जितेको छ। नेपाली टोली आज राति नै वेस्टइन्डिज प्रस्थान गर्ने कार्यतालिका रहेको छ।