images
images
images

माधवलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री नपाएर हिरिकहिरिक गर्दैछन्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै प्रधानमन्त्री खान नपाएर हिरिक्‌हिरिक् गरिरहेको टिप्पणी गरेका छन्।

पार्टीको रसुवा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले तपाईंहरूले देखिरहनुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर पर्‍या छ, पोल्या छ भतभत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ? ओलीले थपे, ‘उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने। अरूले मन पराएका छैनन् भन्ने कस्तो थाहा नपाएको?’

‘प्रधानमन्त्री हुन दमको बिरामीले जस्तो हिरिक्‌हिरिक् गर्दैछन्। प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन्। गठबन्धन बन्दै गर्दा मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर। मैले भनेँ, म प्रधानमन्त्रीको लागि होइन।’ ओलीले भने।

केही दिन अघि नेपालले ओलीलाई लक्षित गर्दै आफू प्रधानमन्त्री हुन लाग्यो भनेर केही मान्छेलाई भतभती पोलिरहेको बताएका थिए। ओलीले आफूले कसैलाई पनि रिस नगरेको र प्रधानमन्त्रीको दौडमा आफू पनि नरहेको बताए।