images
images

माओवादीका कारण मुलुकमा राजनीतिक अस्थिरता भयोः पूर्वमुख्यमन्त्री पाण्डे

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले माओवादीको कारण मुलुकमा राजनीतिक अस्थिरता रहेको आरोप लगाएका छन्।

मुख्यमन्त्री खगराज अधिकारीले दर्ता गरेको विश्वासको मत प्रस्तावमाथिको छलफलमा बोल्दै उनको घुमाउरो शैलीमा माओवादीका कारण अस्थिरता कायम रहेको टिप्पणी गरेका हुन्।

माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले राजनीतिक स्थिरताका लागि मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा विश्वासको मत दिनुपर्ने उल्लेख गरेका थिए। लगत्तै रोष्टममा पुगेका निवर्तमान मुख्यमन्त्री पाण्डेले अर्ती उपदेशभन्दा पहिला सोच्न जरुरी रहेको बताए।

‘राजनीतिक स्थिरता नभएकाले मुलुकले जति प्राप्त गर्नुपर्ने थियो त्यति प्राप्त गर्न सकेन। एकचोटी छातीमा हात राखेर सोचौं, हामी सबैले त्यो राजनीतिक अस्थिरताको यो मुलुकमा कारक पार्टी कुन हो? नेता कुन हो?’, प्रश्न गर्दै भने, ‘र, म यही रोष्टमबाट अनुरोध पनि गर्न चाहन्छु, नेपाली जनताले पनि यो चिन्ने बेला आइसकेको छ। प्रतिपक्ष बेन्चमा कहिल्यै बस्नै नचाहने, त्यो राजनीतिक स्थायित्वको कारक हो कि अस्थायित्वको कारक हो?’

माओवादीलाई समाजवादको बिउ रोप्न कसले छेकेको भन्दै उनले आक्रोश पोखे। ‘माननीय ज्युले भर्खरै भन्नुभो कि परिवर्तनको नयाँ मोडमा अहिले हामी आइपुगेका छौँ। माननीय ज्युले यो भनेको आज मैले यही हाउसमा तीन पटक सुनें’, चुमानप्रति इंगित गर्दै उनले भने, ‘सुरुमा माननीय खगराजजी हुनुभो स्थिरताको लागि साथ दिनुभो। दोस्रो पटक म मुख्यमन्त्री भए स्थिरताको लागि मलाई साथ दिनुभो। अनि दोस्रो पटक गम्भीर मोडमा आइपुग्नु भो। अहिले तेस्रो पटक फेरि स्थिरताको लागि समाजवादको जग बसाल्नका लागि फेरि खगराजजीलाई साथ दिँदै हुनुहुन्छ।’

पाण्डेले थपे, ‘मलाई एउटा खड्कियो, हिजो खगराजजीलाई साथ दिँदा समाजवादको बिउ रोप्न कल्ले रोकेथ्यो? मेरो सरकारमा तपाईं हुँदाखेरि समाजवादको बिउ रोप्न मैले रोके? कुनै दिन मसँग समाजवादको बिउ यसरी रोपौं भन्ने सल्लाह भयो? राजनीतिक नारा धेरैले बुझ्छन्। चतुर खेलाडीले नाराबाट आफ्नो पक्षमा राख्छन्। त्यो धेरैले बुझिसके।’

असंवैधानिक क्रियाकलाप गर्दै गएर राजनीतिक स्थायित्व कायम नहुने उनको भनाइ छ। उनले अदालतले पनि संविधानको छिद्रा खोजेर खगराज अधिकारी मुख्यमन्त्री अधिकारी नियुक्तिविरुद्ध परेको रिट खारेज गरेको आरोप लगाए।

विश्वासको मत दिएन भने मध्यावधिमा जान्छ भनेर कसैले धम्क्याउन नपर्ने उनको भनाइ छ। यो सरकारले विश्वासको मत नपाए अझै संविधानको २ वटा उपधारा रहको उनले बताए।

संविधानको छिद्र टेक्दै खगराज अधिकारी नेतृत्वको सरकार एक महिना टिकेको बताए। अझै पनि अर्को छिद्र खोजेर १५ दिन टिक्ने दाउमा रहेको उनले जिकिर गरे।

सभामखुले दलीय पक्षधरताले लिए साढे तीन वर्ष कसरी चल्छ? संसद भन्दै चुनौती दिए। सभामुख भएर दलीय पक्षधरता नलिन उनको सुझाव छ। सभामुखले गलत कदम चाले संसदकै रोष्टममा उभिएर जनतालाई जवाफ दिन बाध्य बनाउने पाण्डेको चेतावनी छ। संविधानलाई कुल्चदै बनेको अहिलेको सरकारलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने उनले बताए।