images
images

गायक प्रकाशको डेब्यू निर्देशनमा ‘वसन्त’ र ‘शान्ति’ बन्दै प्रकाश र स्वस्तिमा

काठमाडौँ- गायक, संगीतकार तथा अभिनेता प्रकाश सपुतले होम प्रोडक्सन कम्पनी गलबन्दी प्रोडक्सनको ब्यानरमा ‘वसन्त’ सिनेमा निर्माण तथा निर्देशनको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच शीर्षक टिजर सार्वजनिक गर्दै उनले वसन्तको घोषणा गरेका हुन्।

सिनेमामा प्रकाशले निर्माण तथा निर्देशनसँगै अभिनय, लेखन तथा संगीतको कमाण्ड समेत एकसाथ सम्हाल्नेछन्।

वसन्तमा प्रकाशको जोडी अभिनेत्री स्वस्तिमा खड्का बनेकी छन्। सिनेमामा खड्काले ‘शान्ति’ नामक पात्रमा प्रस्तुत हुनेछिन्।

उनीहरुका अलावा सिनेमामा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपालको पनि अभिनय रहनेछ। आगामी चैते दशैंमा रिलिज हुने सिनेमा भदौबाट फ्लोरमा जानेछ।

यसअघि प्रकाशले सेभेन सीजको निर्माण रहेको ‘पूर्णबहादुरको सारंगी’मा काम सक्नेछन् ।

 

मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन सिनेमाका कार्यकारी निर्माता हुन्।

सार्वजनिक ‘वसन्त’को शीर्षक टिजरले सिनेमाले विद्यमान वर्ण व्यवस्था र जात व्यवस्थाबाट सदियौंदेखि पिल्सिएको एउटा तप्काको कथा सिनेमाले पेस गर्ने देखाएको छ।

कार्यक्रममा प्रकाशले आफ्नो जीवन अनुभव ‘वसन्त’मा हुने बताए। ‘मैले जस्तो जीवन भोगेँ, त्यसैको चित्रण फिल्ममा गरिएको छ। त्यसलाई अलिकति फिल्मांकन गरेका छौं। केही वास्तविक घटना-परिघटनालाई पनि बुनिएको छ,’ उनले भने, ‘फिल्ममा त्यस्तो उतार-चढाव छैन। फूलफूल गाँसेर माला बनेजस्तै हाम्रा दुःख-सुःख गाँसेर ‘वसन्त’ बनेको छ।’

यसैगरी स्वस्तिमाले वसन्त रिलिजपछि पनि वर्षौंसम्म कुरा गरिने सिनेमा हुने विश्वास व्यक्त गरिन्।